काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छिन् ।
राष्ट्र संघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभा अन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्वबजारबाट लाभ लिन आग्रह गरीन् ।
उनले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नव प्रवर्तन, कृषिमा एआइको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागि परेको बताइन् ।
उनले नेपालमा कृषि पेशा गर्ने व्यक्तिअर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकुल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको बताउँदै कृषिलाई मर्यादित र आकर्षक पेशा बनाउनुपर्ने धारणा राखिन् ।
नेपालको ८३ प्रतिशत भूभाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स–साना टुक्रामा अवस्थित रहेकोले पनि कृषिकार्य अत्यन्त कठिन रहेको भएपनि यसलाई लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबीसँग जोडिएको बताइन् ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो आयस्रोत बनेको विप्रेषणले नेपालको कुलगार्हस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको र कृषिको योगदान दोस्रो स्थानमा अर्थात् करिब २३ प्रतिशन रहेको बताउँदै मन्त्रीडा राणाले कृषि क्षेत्र अझै पनिकरिब ८० प्रतिशत जनसंख्याको रोजगारीको माध्यम बनेको चर्चा गरिन् ।