पूर्वी नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणाले बढ्यो

साउन १२, काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रू. चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रू. एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा रू. पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रू. दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।

पूर्वी नाका हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिए ।

 

Spread the love