फ्रान्सबाट आएकी १ जना युवतीमा कोरोना पोजेटिभ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार हुदै

फ्रान्सबाट केही दिनअघि नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ । चैत ४ गते फ्रान्सबाट दोहा, कतार हुदै नेपाल आएकी एक १९ वर्षिया नेपाली युवतीमा कोरोना संक्रमण पोजेटिभ दखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार फ्रान्सबाट कतार हुदैे नेपाली आएकी ती युवतीमा कोरोना संक्रमण देखिएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रान्सबाट आएदेखि नै युवती होम क्वारेन्टाइनमा थिइन् हिजो नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उपचारको सम्पूर्ण व्यवस्था मन्त्रालयले गर्ने उहाँले बताउनुभयो । मन्त्री ढकालले ती युवतीको परिवार र होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्ने र आइसोलेनमा राख्ने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द गर्ने निर्णय सरकारले गरेको उहाले बताउनुभयो । नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताउनुभयो । मन्त्री ढकालले ७ वटै प्रदेशमा टेकु अस्पताल स्तरको परीक्षण ल्याब स्थापनाका लागि काम अगाडी बढाइएको बताउनुभयो । सबै प्रदेशका मुख्यमन्त्रीहरुसँ गको सामूहिक बैठकमा अस्पताल निर्माण गर्ने विषयमा केन्द्रीत रहेर छलफल भएको उहाले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । केही दिन ढिला गरी शल्यक्रिय गर्दा पनि समस्या नहुने विरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनेको उहाँले बताउनुभयो । ५० शैयाभन्दा माथिका अस्पतालहरुमा फिवर क्लिनिक सञ्चालनमा ल्याउन पनि निर्देशन दिइएको उहााले बताउनुभयो । नमुना संकलन र परीक्षण बढी मात्रामा गर्ने गरी रणनीतिहरु बनाएर सरकार अगाडी बढेको उहाँले बताउनुभयो । यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण देखिएको थियो । वुहानबाट आएका ती व्यक्ति १० दिनको उपचारपछि डिस्चार्ज भएका थिए । टेकुमा अहिलेसम्म ६ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

Spread the love