बर्षा शुरु भएपछि बाढी र पहिरोका कारण ३२ जनाको मृत्यु, पुल र सडकहरु क्षतबिक्षत

असार १८, काठमाडौं । बर्यायाम शुरु भएपछि बाढी र पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ । ३० जना बेपत्ता छन् । करिब ३ दर्जन घाइते छन् ।

गृहमन्त्रालयका अनुसार, जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

२०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।

केन्द्रले मनसुनजन्य विपद्मा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको छ ।

केन्द्रले बिहीबार दिउँसो २ बजेसम्म अद्यावधिक गरेको तथ्यांक अनुसार यस वर्ष जेठ ३१ देखि असार १७ गतेसम्मको अवधिमा ४२ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । डोटीमा चार जना र रोल्पामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चितवन र तनहुँमा २–२ जनाको मृत्यु भएको छ ।

१४ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । पाँचथर, सप्तरी, सिन्धुली,काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक–एक जनाको मृत्यु भएको हो ।

यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । जेठ ३० गते देशभर मनसुन फैलिएको थियो । मनसुन सुरुमै सक्रिय रुपमा भित्रिंदा आएको बाढी र पहिरोले बढी क्षति पु¥याएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए ।

अंग्रेजी महीनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महीनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महीनाको अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्छ । तर यस वर्षको मनसुनमा त्योभन्दा पनि बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । बाढी पानी पर्दा बाढी र पहिरोको घटना पनि बढी नै हुने भएकाले यस वर्ष धेरै क्षति हुन सक्ने अनुमान गरिएको छ ।

गत वर्षको सुक्खायाममा लागेको डढेलोले रूखपात र पानी सोस्न सक्ने क्षमता घटाइदिएको र उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापहरु कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती रहेकाले पनि यस वर्षको मनसुनमा बढी जनधनको क्षति हुन सक्ने आँकलन गरिएको छ ।

प्राधिकरणले यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन गरेको छ ।

त्यसैगरि, बिहिवार आएको अबिरल बर्षाले मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ ।
गोरखा नगरपालिका–१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।
यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे । गोरखातर्फ रहेको धार्मिक स्थल अकला मन्दिर आउजाउ गर्ने त्यही झोलुङ्गे पुल रहेको थियो ।

 

Spread the love