पर्यटन बोर्डलाई विज्ञको सुझावः पर्यटन पुनरुत्थानका लागि समन्वय गरेर बजेट ल्याउनुपर्ने

 

असार १८, काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

उनीहरुले यो समयमा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकारसमेत खुम्चिने भन्दै भएको बजेटबाट सीमित तर प्रभावकारी काम गर्नसमेत बोर्डलाई अनुरोध गरेका छन् ।

राससका अनुसार, बोर्डले आव २०७८\ ७९ को बजेटका सन्दर्भमा आयोजना गरेको भर्चुअल अन्तरक्रियामा धारणा राख्दै विज्ञहरूले पहिले बोर्डलाई बचाउने र त्यसपछि सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका हुन्। स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा उनीहरूको जोड थियो ।

पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले वर्तमान विषम परस्थितिमा पर्यटन प्रवर्द्धन गर्न सङ्घीय सरकारले बोर्डलाई अनुदान दिनुपर्ने बताए । उनले समस्यामा परेको समय सहयोग गर्ने र भएको समय लिने गरी अगाडि नबढे पर्यटन प्रवर्द्धनमा आर्थिक समस्या आउने र सम्रग पर्यटन क्षेत्र प्रभावित हुने बताए ।

यस्तै विज्ञ डा विष्णुप्रसाद गौतमले विगतमा भएका कार्यको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । अर्का विज्ञ डा प्रेम शर्माले तत्काल अन्तरराष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिए ।

यस्तै विज्ञहरू प्राध्यापक डा सोमप्रसाद खतिवडा, रामचन्द्र सेढाइँ, चेतनाथ कँडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालाई समेटेर कम्तीमा दुईदेखि तीन वर्षको ‘रिकभरी’ र ‘रिभाइवल’ योजना बनाउनुपर्ने र सोहीअनुरुप पर्यटन प्रवर्द्धनका कार्य अगाडि बढाउनुपर्ने जोड दिए ।

यस्तै विज्ञहरू डा आलोक राई, रमेश उपाध्याय र पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरले कोभिड चुनौतीसँगै अवसर पनि भएकाले यो समयमा जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए ।

यसैगरी पर्यटन व्यवसायी विजय अमात्य, विक्रम पाँडे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्दै पूर्वाधारभन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिनेगरी बजेट बनाउन अनुरोध गरे ।

अन्तरक्रियामा बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरूले तयारी गरिरहेको जानकारी दिए ।

बोर्डको स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजकसमेत रहेका उपाध्यक्ष रिजालले विज्ञहरूका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने बताए । उनले थोरै बजेट भए पनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरूका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने बताए ।

यस्तै बोर्डका अर्का सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितिमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिए ।

 

Spread the love