बाढीपीडित परिवारलाई सरकारले ५० हजार दिने

असार २०, काठमाडौं । सरकारले बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रूपैयाँका दरले सहयोग गर्ने भएको छ ।

राष्ट्रियसभामा आज आइतवार गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी गराए ।

उनले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरोकारवालाहरुसँग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए ।
मन्त्री पौडेलले पीडीतको राहत तथा उद्धारका लागि प्रदेशस्तरमा आवश्यक प्रबन्ध गरिएको भन्दै त्यसबारे भएका कामकारबाहीको पनि जानकारी दिए ।

सरोकारवाला निकाय र तीनका पदाधिकारीहरुलाई विपद्बाट पुगेको क्षतिको समीक्षा गरि पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढाउन निर्देशन दिइएको पनि उनको भनाइ थियो ।

यसवर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरुको समेत विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निर्माण गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले बताए ।

सबै प्रदेशमा बाढी तथा पहिरोको क्षतिको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने पनि उनको भनाइ थियो ।

उनले गत वर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९४९ परिवारहरुलाई पहिलो किस्तावापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुनर्निर्माणको काम शरु गरिएको पनि बताए ।

 

 

 

Spread the love