काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा पानीसँगै गेग्रानसमेत मिसिएको पाइएको छ । बाढीका कारण जलमापन केन्द्र र पुलसमेत बगाएको तथा नदीको बहाव निरन्तर घटबढ भइरहेको अवस्थामा बूढीगण्डकी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बिहान करिब ८ः४५ बजेसम्म प्राप्त तथ्याङ्कमा बूढीगण्डकी नदीको जलसतह ८.५ मिटर पुगेको थियो । त्यसपछि बाढीले जलमापन केन्द्र र पुल बगाएका कारण थप तथ्याङ्क प्राप्त हुन नसकेको उनले बताए ।
उनले भने, ‘करिब ८ बजेर ४५ मिनेट जाँदाखेरि बाढी साढे ९ मिट साढे ८ मिटरसम्म पुगेकोसम्म उक्त केन्द्रले तथ्याङ्क पठाएको र तत्पश्चात बाढीले हाम्रो केन्द्रसहित पुल बगाएको कारणले थप तथ्य प्राप्त भएको छैन । तथापि गेज रिडरबाट प्राप्त तथ्याङ्कअनुसार बाढी पुलभन्दा पनि दुई मिटरसम्म माथि आएको कारणले त्यहाँ जोखिम देखिएको छ ।’

गेज रिडरबाट प्राप्त जानकारीअनुसार बाढीको सतह पुलभन्दा करिब १ देखि २ मिटर माथिसम्म पुगेको थियो । यसले नदी आसपासका क्षेत्रमा ठूलो जोखिम रहेको देखाएको पराजुलीको भनाइ छ ।
बाढीले त्रिशूली नदीमा पार्न सक्ने प्रभावको आंकलन गर्दै बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको पराजुलीले जानकारी दिए । बूढीगण्डकी र त्रिशूली नदीको दोभान आसपासको क्षेत्र विशेष जोखिममा रहेको छ ।
उनका अनुसार बाढीका कारण त्रिशूली नदीको बहाव करिब तीन मिटर बढ्नसक्ने अनुमान गरिएको छ । हाल त्रिशूलीको जलसतह सतर्कता तहभन्दा निकै तल रहेकाले तत्काल जलसतह खतराको तहमा पुग्ने सम्भावना कम देखिए पनि नदी कटानको जोखिम भने कायम रहने उनले बताए ।
मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिम र मुग्लिनभन्दा तलको क्षेत्रलाई मध्यम जोखिममा राखिएको छ ।
पराजुलीका अनुसार देवघाटमा हाल नदीको जलसतह करिब चार मिटर रहेको छ । त्यहाँ जलसतह थप साढे २ मिटर बढ्नसक्ने अनुमान गरिएको छ । यसअनुसार देवघाटमा जलसतह करिब साढे ६ देखि ७ मिटरसम्म पुग्नसक्ने देखिएको उनले बताए ।
यो सतर्कता तहभन्दा तलै रहने अनुमान गरिए पनि जलसतहमा उल्लेख्य वृद्धि हुने भएकाले चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको उनले बताए ।
बाढीको प्रकृतिबारे जानकारी दिँदै पराजुलीले प्राप्त भिडियो फुटेजमा पानीसँगै गेग्रान बगिरहेको देखिएको बताए । उच्च बहावसँगै गेग्रानसमेत मिसिएकाले बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको उनले जानकारी दिए ।
