बैंकहरूको सीडी अनुपात ९८ प्रतिशत नाघ्यो, १६ बैंकको तरलता २० प्रतिशतभन्दा कम

पुष ४, काठमाडौं ।  तरलता अभाव कायमै रहेको अवस्थामा पनि कर्जा प्रवाह नरोकिएपछि बैंकहहरूको कर्जा निक्षेप (सीडी) अनुपात ९८ प्रतिशतभन्दा माथि पुगेको छ ।

यो राष्ट्र बैंकद्धारा निर्देशित सीमा भन्दा करिब ८ प्रतिशत विन्दुले बढी हो । राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशत सीडी अनुपात कायम गर्नुपर्छ ।चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसअघिको सीसीडी (मुल पुँजी तथा निक्षेपमा कर्जा) अनुपात खारेज गरेर राष्ट्र बैंकले सीडीको व्यवस्था लागू गरेको हो । तर बैंकहरुले आउँदो असारसम्म सीडी अनुपात ९० प्रतिशत माथि कायम गर्न पनि छुट पाएका छन् । यसकारण हाल ९० प्रतिशतभन्दा धेरै सीडी अनुपात भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको छैन ।

सीडी अनुपात ९० प्रतिशत माथि रहेको अवस्थामा पनि निरन्तर कर्जा बढाउने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पटक पटक सचेत गराउँदै आएको छ । यस्तो अवस्थामा अधिकांश बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि छ । स्रोतका अनुसार गत सातासम्म बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात औसत ९२ प्रतिशत हाराहारीमा छ । सोही अवधिमा संस्थागत रुपमा केही बैंकको सीडी अनुपात अधिकतम ९८.६८ प्रतिशतसम्म पुगेको छ भने न्यूूनतम ८७.३३ प्रतिशत छ । जसअनुसार १८ वटा बैंकको सीडी अनुपात ९० प्रतिशत माथि छ । बाँकी ८ वटा बैंकको सीडी अनुपात ९० प्रतिशतभन्दा कम छ । आउँदो असार मसान्तसम्म सीडी अनुपात अधिकतम ९० प्रतिशतसम्म कायम गर्ने कार्ययोजना बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा अनुगमन हुनेगरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्न राष्ट्र बैंकले गत बिहीबार निर्देशन दिएको हो । ‘२०७९ असारसम्ममा यस अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । तोकिएको कर्जा–निक्षेप अनुपात अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत तरलता कायम गर्नुपर्नेछ । यसको अर्थ बैंक तथा वित्तीय संस्थामा नगद र तोकिएको ऋणपत्रमा लगानी रहेको रकम २० प्रतिशत कायम गर्नुपर्ने हुन्छ । गत सातासम्म अधिकांश बैंक तथा वित्तीय संस्थाले यो निर्देशन पनि उल्लंघन गरेका छन् । स्रोतका अनुसार गत सातासम्म संस्थागत रुपमा केही बैंकको तरलता अधिकतम २७.२९ प्रतिशत र न्यूनतम १३.३३ प्रतिशतसम्म छ । जसअनुसार गत सातासम्म १६ वटा बैंकको तरलता २० प्रतिशतभन्दा कम छ । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्थाबारे हरेक दिन राष्ट्र बैंकमा जानकारी दिनुपर्छ । तर, मासिक रुपमा गणना गर्दा २० प्रतिशतभन्दा कम तरलता भएको अवस्थामा राष्ट्र बैंकले कारबाही गर्छ ।

Spread the love