काठमाडौं ।काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठनप्रति योगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौल समूहको विजेता, उप विजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ । चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पाउने छन् ।
असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोश्रो दिन प्रिजजिङ र फाइनल खेल हुने छ । पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ । आगामी संस्करणमा महिलाको पनि प्रतिस्पर्धा गराउने आयोजक वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए । पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले ओभरअल विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरेका थिए ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।