मुद्रण उद्योगलाई मनिपाल अस्पतालमा छुट सुविधाको सम्झौता

पोखरा । कास्कीका छापाखानाहरुका सञ्चालक र कामदारहरुले मनिपाल शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार सेवामा सहुलियत पाउने भएका छन् । यसका लागि मुद्रण उद्योग संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच बिहीबार कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा सम्झौता भएको हो ।
सम्झौतापत्रमा संघका जिल्ला अध्यक्ष चिन्तामणी बाँस्तोला र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् । उपचार सेवा पाउन सम्पर्क व्यक्तिमा मनिपालका तर्फबाट प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ र संघका महासचिव पदम श्रेष्ठलाई जिम्मेवारी दिइएको संघका द्वितीय उपाध्यक्ष प्रकाशराज पौडेलले बताए ।
संघ बाँस्तोलाले मुद्रण व्यवसायी, कर्मचारी र उनका परिवारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मनिपालसँग सम्झौता गरिएको जानकारी दिए । उनका अनुसार कास्कीमा सञ्चालित एक सयभन्दा बढी मुद्रण उद्योगहरुमा करिब ८ सय जना रोजगारीमा छन् ।
संघमा आबद्ध कर्मचारी र परिवारका सदस्यहरुले मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गर्दा निःशुल्क दर्ता र अन्यमा १० देखि २५ प्रतिशत सम्मको छुटको सुविधा सम्झौतापछि सुनिश्चित भएको अध्यक्ष बाँस्तोलाले बताए । ‘व्यवसायी, कर्मचारी र उनका परिवारलाई परिचयपत्र वितरणको काम थालेका छौं, परिचयपत्रका आधारमा अस्पतालको सेवामा छुट सुविधा लिन सकिने छ,’ उनले भने ।
मनिपालका प्रमुख कार्यकारी अधिकृत ओडूविलले अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघसंस्था स्वास्थ्य परिक्षण योजना’अन्तर्गत मुद्रण उद्योग संघ कास्कीसँग सहमति गरिएको बताएका छन् ।

Spread the love