मेलम्चीका बाढीपीडितहरुले आर्थिक प्याकेज ल्याउन प्रधानमन्त्रीसंग माग

साउन ११, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढीपीडितले तुरुन्तै आर्थिक प्याकेज कार्यक्रम ल्याउन माग गरेका छन् ।
मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर बाढी प्रभावितले नदीलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने, बाढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने माग राखेका हुन् ।

यस्तै बैंकको ऋणबाट व्यवसाय गरिरहेकालाई व्याज मिनाहा र सहुलियतको व्यवस्था मिलाउनुपर्ने, किसान, उद्योगी, व्यापारी विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्नुपर्ने, मेलम्ची र हेलम्बुमा तत्काल बेलिब्रिजको व्यवस्था गर्नुपर्ने, विद्युत् महसुलमा छुटको प्रबन्ध मिलाउनुपर्ने मागसमेत गरेका छन् ।

पीडितहरुले प्रधानमन्त्रीसंग मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरूले बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि बृहत् परियोजनाका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, जीवन निर्वाह गर्न रोजगारी र उनीहरुका सन्तानलाई उच्च शिक्षासम्मका लागि सरकारले प्रबन्ध गर्नुपर्ने बताएका छन् ।

भेटपछि प्रधानमन्त्री देउवाले बाढी र पहिराले मेलम्ची क्षेत्रमा पु¥याएको क्षतिका बारेमा आफू जानकार रहेको बताउँदै मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको स्पष्ट पारे ।

विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले सबैभन्दा ठूलो क्षति व्यहोरेको मेलम्चीले विसं २०७८ असार १ गते राति परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पु¥याएको थियो ।

 

Spread the love