लिभरपुलको शानदार जीत

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एफसी बर्नमाउथविरुद्ध ४-० को जित निकालेको हो । लिभरपुलको जितमा नुनेज र जोटाले दुई-दुई गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै लिभरपुलले दोस्रो हाफमा गरेको थियो । डर्विन नुनेजले ४९ औं मिनेटमा डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुलको गोलको खडेरी तोडेका थिए ।
डिएगो जोटाले कोडी म्याथेस गाक्पोको पासमा ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
७९ औं मिनेटमा जोटाले कोनर ब्याड्लेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-० ले अघि बढेको थियो ।
दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा नुनेजले जोसेफ गोमेजको पासमा गोल गर्दै लिभरपुललाई ४-० को सहज र फराकिलो जीत दिलाए ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले ५ अंकको अग्रता बनाएको छ । लिभरपुलको २१ खेलबाट ४८ अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४३ अंक रहेको छ । एएफसी बर्नमाउथ भने २० खेलबाट २५ अंकका साथ १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्टह्याम युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई पटक अग्रता लिएको वेस्ह्यामले अतिरिक्त समयका पेनाल्टी खान पुग्दा बराबरीमा चित्त बुझायो । अतिरिक्त समयमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पनि पाएका थिए ।
जारी सिजनमा सेफिल्ड पुच्छारमा रहेको छ भने वेस्टह्याम छैटौं स्थानमा छ ।

Spread the love