विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले नेपाल-चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताउनु भयो । उहाँले जनस्तरमा भएको चीन-नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभयो । उहाँले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताउनु भयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्नुभयो ।
मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो । चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गर्नुभयो । फोटो प्रदर्शनीमा चीन सरकारले विगत १० वर्षमा कसरी देशको विकास गर्न सक्षम भयो भन्नेकुरा देखाइएको थियो ।

Spread the love