सरकारले गर्‍यो तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध लगाएको छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ । बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनु भयो । उहाँले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताउनु भयो । अध्यक्ष तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताउनु भयो । उहाँले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको भएपनि यो वर्ष रोक लगाएको बताउनु भयो । उहाँले सयपत्री फूलको उत्पादनले ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउनसके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताउनु भयो । उहाँले पुष्प व्यवसाय मुलुकमा आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । अध्यक्ष गोल्छाले पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले पुष्प व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने बताउनु भयो । उहाँले पुष्प व्यवसाय थप विकास र बिस्तार गर्नको लागि सरकारले पूर्वाधार विकासमा लगानी गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको आर्थिक समृद्धि किसानहरुको माध्यमबाट हेर्न जरुरी भएको बताउनु भयो ।
कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरुलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको बताउनु भयो । उहाँले पुष्प व्यवसाय बिस्तार र बजारिकरणको लागि निजी क्षेत्र र सरकार समन्वय गर्ने जरुरी रहेको बताउनु भयो । केसीले सरकारले फूल आयात निर्यातको लागि आवश्यक नीति कहाँ परिर्वतन गर्नुपर्छ त्यो गर्न तयार रहेको बताउनु भयो ।
त्यस्तै कलाकार हरिवंश आचार्यले मुलुकमा पुष्प व्यवसाय आत्मिनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै भएर नहुने बताउनु भयो । कलाकार आचार्यले सरकारले पुष्प व्यवसायलाई आयआर्जनको उद्योगको रुपमा विकास गर्न सक्नुपर्ने बताउनु भयो ।
पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।

Spread the love