शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति,पत्रकार हत्यारालाई कारवाहीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
आइतबार पार्टी कार्यालय आलोक नगरमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरुले घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो ।
त्यस्तै पार्टीले नीजि घर,पसल र गाडीहरूमा आगजनी गर्ने, राजनीतिक दलका नेताहरूको घरमा ढुंगामुढा गर्ने काम गरेको भन्दै यस्तो अराजक र अपराधिक दृष्य सभ्य समाजका लागि स्विकार्य नहुने जनाएको छ ।
यस्तो हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न अपराधिहरूलाई कानुन अनुसार कडाभन्दा कडा कार्बाही गर्न र सार्वजनिक, नीजी, व्यवसायिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग पार्टीले माग गरेको छ ।
यस्तै पार्टीले सोही दिन भएको समाजवादी मोर्चाको जनसभा भव्यता, शालीनता, शान्तिपूर्ण र उत्साह जनक रूपमा सफल भएको पनि जानकारी गराएको छ ।

Spread the love