शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोक्न अनुगमन गर्ने

वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो ।  वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताउनु भयो । उहाँले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताउनु भयो । उहाँले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताउनु भयो । घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताउनु भयो । उहाँले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताउनु भयो ।
उहाँले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीवार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रवार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताउनु भयो । उहाँले सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयात गर्ने नै प्रतिवन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारी भन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने पनि बताउनु भयो ।

Spread the love