काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले ‘श्रम संसार’ पोर्टलको सुरुवात गरेको छ । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले श्रम संसार पोर्टलको शुभारम्भ गरे ।बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रम संसार पोर्टलको शुभारम्भ गरेका हुन । पोर्टलमा वैदेशिक रोजगार विभागले जारी गर्ने श्रम स्वीकृतिको विवरण सहित वैदेशिक रोजगार प्रशासनका सबै सूचना तथा जानकारी रहने मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले यस वर्षका लागि तय गरेको ‘सेफ्टी एन्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एन्ड द फ्युचर अफवर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताए । श्रम संसार पोर्टलले श्रम तथा रोजगारको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमन लगायतका विषयको लाभ जनस्तरसम्म पु¥याउन सहयोगी हुने विश्वास व्यक्त गरेका थिए । आगामी दशकलाई आन्तरिक समृद्धि प्रवद्र्धनको दशक बनाउने कार्यमा सहयोग र समन्वय गर्न सबैमा आग्रह गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम संसार पोर्टल संचालन भएपश्चात रोजगारीका लागि भनसुन, नातावाद र कृपावादकोे अन्त्य भएकोे बताए । सार्वजनिक पोर्टलबाट श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका सूचना संघीय तथा प्रदेश सरकारको समन्वयमा पालिकामा रहेका रोजगार सेवा केन्द्र मार्फत संचालन हुने श्रम मन्त्रालयले जनाएको छ ।