श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारी र नेपालका लागि जापानी राजदुत तोरूबीच भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदुत मइडातोरूले मंगलवार शिष्टचार भेट गरेका छन्।
भेटका क्रममा नेपाल र जापानबीच भएको आपसी समझदारी एवम् श्रम संझौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको थियो।
साथै, नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षा लगायतका विषयमा मन्त्रीले चासो समेत राखेका थिए ।
यसै गरी जापान सरकारको माग बमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशिघ्र निश्कर्षमा पुर्याउनु पर्ने विषयमा समेत दुबै पक्षबीच कुरा भयो ।
भेटकाक्रममा नेपालका लागि जापानी राजदुतले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताए ।
नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता डण्डुराज घिमिरे जानकारी दिए ।

Spread the love