साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक छ ः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच बिस्तार गरी तिनै तहका उद्योगहरुले लघु,साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको बताउनु भयो ।
उहाँले बैंकहरुको महंगो ब्याजले लगानी बिस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताउनु भयो । उहाँले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गर्नुभयो । उहाँले करिव ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताउनु भयो ।
अध्यक्ष गोल्छाले एसएमइ क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिवद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको बताउनु भयो ।

Spread the love