स्वदेशी उत्पादनको प्रवद्र्धन आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवद्र्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम मार्फत स्वदेशी वस्तुको प्रवद्र्धन गरिरहेको बताए ।
मन्त्री भण्डारीले उद्योग मेलाहरू, स्वदेशी उत्पादन प्रदर्शनीहरू र ई–कमर्स प्रवद्र्धन कार्यक्रमहरू मार्फत बजार पहुँच विस्तार गर्न सहयोग प्रदान गरिएको बताए।
उनले यस अभियानबाट स्वदेशी उद्योग धन्दाको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले आयात प्रतिस्थापनलाई ध्यानमा राख्दै स्वदेशी उत्पादनको गुणस्तर र नवप्रवर्तनमा जोड दिइरहेको बताए।
मन्त्री भण्डारीले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई स्टार्टअप उद्यम संलग्न हुन उत्प्रेरित गर्दै सहुलियत पूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याएको बताए ।
उनले यस वर्ष मन्त्रालयले स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको र कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राखेर ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा दिने गरी कार्य भइरहेको बताए ।
मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्न उद्योग मैत्री वातावरण सुधार गर्ने अभियान अन्तर्गत महत्वपूर्ण सुधारका कार्यहरू अघि बढाएको जानकारी दिए ।
उनले नीतिगत विषयहरू कार्यान्वयनमा लैजान सरकारलाई तपाईँहरूको साझेदारी आवश्यक रहेको बताए । चेम्बर अफ कमर्स जस्ता संस्थाहरूबाट प्राप्त सुझाव, अनुसन्धान र नीति सिफारिसहरू सरकारले उच्च मूल्यका रूपमा ग्रहण गर्ने उनको भनाई छ । मन्त्री भण्डारीले निजीक्षेत्रले पनि सामाजिक उत्तर दायित्व, पारदर्शिता, कर प्रणालीको परिपालना, र श्रमिक–नियोजन सुरक्षामा आफ्नो उत्तरदायित्व प्रति जिम्मेवार रहनुपर्नेमा जोड दिए ।

Spread the love