राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको एफएनसिसिआइका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको छ । महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताउनुभएको हो । गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पार्नुभयो ।

अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिइरहेकोले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताउनुभयो । उहाँले राम्रो काम गर्नका लागि बलियो टिम आवस्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताउनुभयो

महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफुले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने बताउनुभयो । उहाँले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो । महासंघ भित्र काम गर्न गाह्रो भएको र आफु अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाले बलियो टिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफुलाई अहिले सम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझैपनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको बताउनुभयो ।

Spread the love