काठमाडौं । अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ ।
हनुमान ढोकामा मंगलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको रिबन काटेर उद्घाटन गरेका हुन् ।
उदघाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्वलाई जोड दिँदै नौतले दरबारको उदघाटनले आजको दिनलाई ऐतिहासिक बनाएको बताए ।
उनले हाम्रो सम्पदा र कला संरक्षण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नआज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सरकारले यसबारेमा निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।
डिजिटल युगमा प्रवेश गरिसकेको वर्तमान समयमा सम्पदाको डिजिटल अभिलेखनको खाँचो औंल्याउँदै मन्त्री पाण्डेले पुरातत्व विभाग र अभिलेखालयलाई त्यसतर्फ सक्रिय हुन निर्देशन दिए ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक, चिनियाँ प्राविधिक टोलीका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा सम्पदा क्षेत्रमा सक्रिय विज्ञहरू सहभागी थिए। उनीहरूले नौतले दरबारको पुनःनिर्माणमा प्रयोग गरिएको परम्परागत काष्ठकला, ढुंगा निर्माण शैली र हस्तकलाको पनि अवलोकन गरेका थिए ।
प्राचीन शिल्प, परम्परा र धैर्यको प्रतीक मानिने नौतले दरबार आज सर्वसाधारणको लागि खुला भएपछि हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक महत्वमा पुनः ऊर्जा थपिएको छ ।
