कृषि समस्या समाधानका लागि नेपालमै पहिलोपटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत् कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इण्टेलिजेन्स(एआई) ‘साथी’ सार्वजनिक भएको हो । यस डिभाइसले नेपालका किसानहरुले खेतीपाती कार्यक्रममा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इण्टेलिजेन्स-एआई) को प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउनेछ । महिला विकास समाजकी संयोजक लचना हाडाले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण कमजोर बन्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्न तथा किसानलाई सूचना प्रविधि उपलब्ध गराउन सो प्रविधि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस डिभाइसबाट अब किसानले आफ्नो बारीको माटोको गुणस्तर, बालीनाली परीक्षणको नतिजा पाउन प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
यो सञ्चालनका लागि इन्टरनेट तथा क्लाउड पूर्वाधार नचाहिने भएकोले पनि हरेक किसानले यसलाई प्रयोग गर्न सक्नेछन् । यो प्रविधि विकास गर्ने टोलीमा महिला विकास समितिअन्तर्गतको सक्रिय महिला प्राविधिकहरुको समूह ‘इम्प्याक्टर्स’ सूचना प्रविधि विज्ञ लचना हाडासहित १६ जना महिला विज्ञ सहभागी हुनुहुन्छ ।
