इजरायल र इरानका नेपालीहरुको रजिष्ट्रेसन जारी, चाँडै उद्धार गरिने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी हुन ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा.राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएन् ।
मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूताबासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उहाँहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिए ।
बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालयपनि त्यहाँ रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र उहाँहरु स्वदेश फर्कन चाहनुभएमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताइन् । उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरुलाई श्रम स्वीकृति नदिइ रोकि राखिएको पनि बताएकी छिन् ।
यहीजुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत् दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित नेपाली राजदूतावासहरूसँग सम्पर्कमा रहन अनुरोध गरेको थियो ।
त्यसपछि जुन १५ मा सम्पर्क विवरण सहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीहरुलाई अनुरोध गरिएको थियो ।
त्यसैगरी इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारीहरू, यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ । हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन् ।

Spread the love