आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन । निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरुको नामावली स्विकृत गरिएको जानकारी गराएको हो । जस अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरु रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गतेको गोरखापत्रका प्रकाशित गरिएको पनि बताउनु भयो ।
निर्वाचन आयोगले स्थानीय तह निर्र्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरुलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ । विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पार्नु भयो । त्यसका लागि ईच्छुक संस्थाहरुले १५ दिन भित्र विद्युतीय माध्यामबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
यसैबीच, निर्वाचन आयोग, नेपालले मत पत्र छपाईका लागि मेसिनलगायतका सामग्रीहरु तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ । प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरुलाई आज (सोमबार) नै अभिमुखिकरण तालिम दिइएको बताउनु भयो । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ ।