विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र ज्ञान, सीप मुलुकको लागि उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई प्रधानमन्त्रीले गरे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघको १० आंै विश्व सम्मेलनको समापनको अवसर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि ठूलो पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपालीहरुले पुरकको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैर आवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक विभिन्न नीति र कानुनी सुधार गर्दैै गैर आवासीय नेपालीहरुलाई सहज रुपमा लगानी गर्न सक्ने तथा लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरुको सम्पत्ति र लगानीको संरक्षण गर्ने काममा सरकार सदैव सकारात्मक रहेको पनि बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले भूकम्पले ध्वस्त बनाएको बस्तीको पुनर्निर्माण र कोभिड संकटमा सघाउ पुर्‍याएको आभार समेत व्यक्त गर्नु भयो ।

Spread the love