लगानी बोर्ड र एफएनसिसिआइ बीच लगानी सम्बन्धि विस्तृत सम्झौतापत्रमा हस्ताक्षर

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्रीलाई साथमा राखेर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विदेशी लगानी मात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले लगानीसँग प्रविधि भित्र्याउँदा नीजि क्षेत्रको लागि धेरै फाइदा पुग्न सक्ने दाबी गर्नु भयो । अहिले विदेशी लगानी ल्याउनको लागि केही नीतिगत तथा ऐन र कानूनी रुपमा समस्या देखिएको अर्थमन्त्री शर्माले बताउनु भयो ।

त्यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरुले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताउनु भयो । अब हामीले योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शमाले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनु पर्ने बताउनु भयो । उहाँले जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने आवश्यक भएको उल्लेख गर्नु भयो । मन्त्री शर्माले मुलुकमा लगानी बढाउनको लागि ‘डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’तयार गर्न लागेको बताउनु भयो । उहाँले यो फण्डमा नीजि क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा लगानी बोर्डका सीइओ शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताउनु भयो । उहाँले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताउनु भयो । भट्टले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धानको विषय भएको बताउनु भयो ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताउनु भयो । उहाँले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनु भयो । उहाँले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनु पर्ने बताउनु भयो ।
त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताउनु भयो ।
पूर्वअध्यक्ष राणाले नेपालमा जलविद्युतमा मात्रै धेरै विदेशी लगानी भएकाले अब पर्यटन तथा कृषि क्षेत्रमा विदेशी लगानी र प्रविधि दुबै ल्याउनु पर्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघले लगानीको बातावरण बनाउन लगानीकर्तालाई सहजीकरण गर्न एक सहायता केन्द्र स्थापना गर्ने भएको छ ।

Spread the love