साउन २४,काठमाण्डौ । नेपाल चलचित्र कलाकार संघले कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो । नेपाल चलचित्र कलाकार संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि कोभिड १९ संक्रमित भएकाहरुले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । कलाकारितामा काम गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको उहाँले बताउनुभयो । कोभिड विरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबुलटक गर्न तयार रहेको उहाँले बताउनुभयो ।
उहाँले कोभिड विरुद्धको खोप लगाउनको लागि ललितपुर महानगरले गर्नुपर्ने काममा आफू सदैव तत्पर रहेको बताउनुभयो ।

