सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतद्धारा दिएको राजीनामा स्वीकृत हुन बाँकी

असार २१, काठमाडौं । सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर, उनले दिएको राजीनामा बैंक संचालक समितिले भने स्वीकृत गरेको छैन ।

उनको राजीनामा बिचाराधीन अबस्थामा रहेको बैंक स्रोतले बतायो । सिइओ गौतमले आइतबार साँझ संचालक समितिको बैठकमा राजीनामा पेश गरेका थिए ।

गौतम २०७५ बैशाख १९ गतेदेखि सेन्चुरी कमर्सियल बैंकको सीईओ भएका थिए । सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । त्यस अघि भने उनी माछापुच्छ्रे बैंकको सीईओ थिए । माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए ।

३३ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनी तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए । एसबिआइमा उनी १० बर्ष सम्म रहे ।

अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीए समेत गरेका छन् । उनले आइतबार दिएको राजीनामाका बारेमा सेन्चुरी कमर्सियल बैंकले यस बारेमा नेप्सेलाई पनि जानकारी दिइसकेको छ ।

सिइओ तुलसीराम गौतमको राजीनामा स्वीकृत हुने वा नहुने यस बारेमा बैंकले अहिलेसम्म केहि सार्बजनिक गरेको छैन ।

 

 

 

Spread the love