२० कम्पनीले सर्वसाधारणका लागि शेयर निश्कासन गर्दे

असार २१, काठमाडौं । विभिन्न क्षेत्रका २० कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दैछन् । तीमध्ये केहीले नियामक निकायबाट सेयर निष्कासन अनुमति पाइसकेका छन् । केहीले अनुमति पाउने प्रक्रियामा छन् ।

२० कम्पनीमध्ये तेह्रथुम पावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाइसकेका छन् । तेह्रथुम पावर कम्पनीले स्थानीयका लागि १२ लाख कित्ता सेयर (१२ करोड रुपैयाँ) निष्कासन गर्न लागेको हो ।

युनियन लाइफले यही असार २४ देखि सर्वसाधारणका लागि ६४ लाख ५० हजार कित्ता (६४ करोड ५० लाख रुपैयाँ) सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ रहेको यो कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकत ३२ हजार २ सय ५० कित्ता आवेदन दिन सक्छन् ।

बाँकी १८ कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सामान्यतः बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १८ कम्पनीले ५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ बराबरको ५ करोड ७१ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेका छन् ।

तीमध्ये १३ वटा जलविद्युत्, २ वटा लघुवित्त, २ वटा बिमा र एउटा अन्य समूहअन्तर्गतका कम्पनी छन । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

 

 

Spread the love