हरेक साता धमाधम ४ लाख ४ हजार हेक्टरमा रोपाइँ

असार २५, काठमाडौं । अहिले हरेक साता २९.४९ प्रतिशत अर्थात् ४ लाख ४ हजार हेक्टरमा रोपाइँ भइरहेको छ ।। असार १५ सम्म २७.१२ प्रतिशत (३ लाख ७१ हजार ९ सय ५८ हेक्टर) रोपाइँ भएकोमा २२ गतेसम्म थप साढे २९ प्रतिशत रोपाइँ भएको हो ।

मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुने कृषि विभागको तथ्यांक छ । यसमध्ये असार २२ सम्म ५६.६१ प्रतिशत अर्थात् ७ लाख ७६ हजार ४ सय ९० हेक्टरमा रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा भने बर्खे बाली ६०.६६ प्रतिशत अर्थात् ८ लाख ३२ हजार १ सय ३३ हेक्टरमा रोपाइँ भएको थियो । यसपालि समयमै मनसुन सक्रिय भए पनि रोपाइँमा केही कमी आएको हो । गत वर्ष लकडाउनका कारण सर्वसाधारण गाउँ फर्किएकाले बढी रोपाइँ भएको विभागले जनाएको छ । बीउ राख्ने बेला पानी कम परेकाले पनि हिले बीउमा ढिलाइ भएपछि केही कमी देखिएको हो । गत वर्ष रोपाइँ हुने क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ भयो । अहिले मनसुन सक्रिय भएको छ, रोपाइँ पनि तीव्र चलेको छ ।

तथ्यांकअनुसार बढी धान फल्ने तराई र मध्य पहाडमा गत वर्षको यही अवधिको तुलनामा रोपाइँ कम छ । उच्च पहाडमा भने रोपाइँ बढेको जनाइएको छ । उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ, यसमध्ये ५६.७ प्रतिशतमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा उच्च पहाडमा ५३ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मध्य पहाडमा ५३.६९ प्रतिशतमा रोपाइँ भएको छ । उक्त क्षेत्रमा ३ लाख ४६ हजार ९९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुन्छ ।

तराई क्षेत्रमा असार २२ सम्म ५७.६४ प्रतिशत रोपाइँ भएको छ । विभागका अनुसार तराई क्षेत्रमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष असार २२ सम्म तराई क्षेत्रमा ६२.३८ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा सबैभन्दा बढी मध्य, पूर्व र तराईमा बढी धान खेती हुन्छ । ७० प्रतिशत तराईमै उत्पादन हुन्छ । यसपालि औसतभन्दा बढी वर्षा हुने अनुमान छ । त्यसो हुँदा बर्खे धान लगाउने क्षेत्रफल बढ्न सक्ने जानकारहरू बताउँछन् । ‘उत्पादन बढाउन वैज्ञानिक तरिकाले धानको बीउ छान्नुपर्छ ।

विवरणअनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ८३.८५ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा रोपाइँ हुन्छ । दोस्रोमा लुम्बिनी प्रदेशमा ८०.५० प्रतिशत रोपाइँ भएको छ । यहाँ ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । तेस्रोमा सुदूरपश्चिम प्रदेशमा ७५.५४ र वाग्मतीमा ६१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश १ मा ४६.५८, प्रदेश २ मा ३९.२८ र सबैभन्दा कम गण्डकीमा ३०.५७ प्रतिशत रोपाइँ भएको कृषि विभागको तथ्यांक छ ।

 

 

 

Spread the love