हिमालय एयरलाइन्सले अनलाइनबाट टिकट बिक्री शुरु गर्‍यो

असार २३, काठमाडौं । हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्सको वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।

प्रारम्भिक चरणमा कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले बताएको छ ।

एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने योजना बनाएको बताएको छ ।

राससका अनुसार, नयाँ वेबसाइटबारे एयरलाइन्सका अध्यक्ष जोउ इन्योङ्ले ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर रहेको बताएका छन् ।

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन सेवा कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै हिमालय सधैंं आफ्ना ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित भएको जिकीर गरेका छन् ।

 

 

Spread the love